बिहार चुनाव नतिजाकै दिन जनसुराज उम्मेदवारको हृदयाघातबाट मृत्यु


बिहार विधानसभा चुनाव २०२५ को नतिजा घोषणा भएको दिन नै जनसुराज पार्टीका उम्मेदवार चन्द्रशेखर सिंहको हृदयाघातका कारण मृत्यु भएको छ। तारारी निर्वाचन क्षेत्रबाट लडेका सिंहले २ हजार २७१ मत पाएका थिए भने यो सिट भाजपाका विशाल प्रशान्तले जितेका छन्। चन्द्रशेखरलाई शुक्रबार दिउँसो करिब ४ बजेतिर दोस्रो हृदयाघात भएको थियो। यसअघि चुनाव प्रचारका क्रममा अक्टोबर ३१ मा पहिलो हृदयाघात भएको थियो।
सेवानिवृत्त प्रधानाध्यापक चन्द्रशेखर कुर्मुरी गाउँका बासिन्दा थिए। समुदायमा उनको राम्रो सम्मान थियो। प्रशान्त किशोरको जनसुराज अभियानबाट प्रभावित भएर उनी पार्टीमा आएका थिए र टिकट पाएका थिए। यो घटनाले तारारी क्षेत्र र आसपासका गाउँमा शोक छाएको छ। स्थानीयले यसलाई ठुलो क्षति भनेका छन्। जनसुराज पार्टीले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन।
तारारीमा मतगणना सकिँदा भाजपाका विशाल प्रशान्तले ९६ हजार ८८७ मतसहित जिते भने सीपीआईएमएलका मदन सिंहले ८५ हजार ४२३ मत ल्याएर दोस्रो भएका छन्।























