प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता


काठमाडौँ, कात्तिक २७। नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो ।
२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभयो ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुभएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो ।
समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।























