Opens in a new tab

थानीमाईमा फूलको डोली चढाएमा मनको इच्छा पूरा हुने धार्मिक विश्वास

रासस

29Shares
dida bag ad

दमौली (तनहुँ), कात्तिक २६। यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा यही कात्तिकको तीन मङ्गलबार २१९ फूलको डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएको थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै सोही अवधिमा यहाँ २४ हजार एक सय २७ भक्तजनले दर्शन गरेका छन् । कात्तिकको दोस्रो मङ्गलबार ११ गते आठ हजार, तेस्रो मङ्गलबार १८ गते सात हजार पाँच सय ५७ र अन्तिम मङ्गलबार २५ गते आठ हजार पाँच सय ७० भक्तजनले पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । कात्तिकको पहिलो मङ्गलबार औँसी परेका कारण फूलको डोली भित्रिएको थिएन ।
मन्दिरमा कात्तिकको दोस्रो मङ्गलबार ८६, तेस्रो मङ्गलबार ५८ र अन्तिम मङ्गलबार ६६ फूलको डोली भित्रिएको छ । यहाँ तनहुँ सहित चितवन, गोरखा, लमजुङ, काठमाडौँ, नवलपरासी, कास्की, रुपन्देहीलगायतबाट भक्तजनले फूलको डोली भित्र्याएका छन् ।प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ ।

भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।