च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी


मुस्ताङ, कात्तिक २५ । हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु एक हजार ३०० छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गर्नुभएको थियो ।
पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा १० वटा थपेर १२ वटा पु(याउनुभयो । त्यसपछि सुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रा । उहाँको च्याङ्ग्रापालन अहिले लोभलाग्दो छ । उहाँको फार्ममा हाल १३० बढी च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले २० वटाभन्दा च्याङ्ग्रा रु ४० हजार मूल्यमा बिक्री गर्नुभयो । उहाँ भन्नुहुन्छ, “पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।”
उहाँले च्याङ्ग्रापालनका लागि एक जना गोठाले पनि राख्नुभएको छ । उहाँसँगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् । च्याङ्ग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु हो । हाल बर्सेनि २०० झोपा मल बिक्री गरी रु दुई लाख बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउनुहुन्छ । पूर्णबहादरले भन्नुभयो, “मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।”
औसतमा वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उहाँको छ ।























