‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

रासस


पर्वत, कात्तिक २५। कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ ।
“हामीले यस कार्यक्रममार्फत कृषकलाई प्रविधिको पहुँचमा ल्याउँदै दिगो आम्दानीको बाटो खोल्ने प्रयास गरेका हौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले भन्नुभयो । उहाँका अनुसार टनेल खेतीले परम्परागत प्रणालीभन्दा कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यसले कृषि क्षेत्रलाई नयाँ आयाम दिनेछ ।
विहादीका अधिकांश किसानले विगत केही वर्षयता सानासाना टनेल प्रयोग गरेर प्रशस्त उत्पादन गरेका छन् । प्रविधिको पहुँच, पुँजी र संरचनाको अभावले हाइटेक टनेल खेती विस्तार गर्न नसकिएको स्थानीय किसानको भनाइ छ ।
गाउँपालिकाले यही आवश्यकता महसुस गर्दै सहकारी, समूह र फार्मलाई सहभागी गराएर सामूहिक रूपमा आधुनिक टनेल निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।
“छ वटा वडा रहेको विहादीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि प्रशस्त सम्भावना रहेको छ । यहाँका सयौँ कृषक व्यावसायिक कृषिमा लागेका छन् । सडकको राम्रो पहुँच विस्तार भएसँगै बजारको समस्या छैन”, उहाँले भन्नुभयो ।
कार्यक्रमअन्तर्गत सहभागी हुन चाहने कृषक, समूह वा सहकारीले सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय कृषक समूहलाई प्राथमिकता दिइने छ ।
यो कार्यक्रम सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’ का रूपमा चिनाउने पालिकाको कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था सिर्जना गर्ने र गाउँमै रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
कृषि क्षेत्रलाई जोड दिँदै आएको विहादीले यसअघि पनि टनेल विस्तार अभियान थालेको थियो । टनेलसँगै मल्चिङ प्लाष्टिक, सिकेचर, स्प्रे तथा बीउबिजनमा अनुदान दिँदै आएको जनाएको छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















