चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान


चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।
चितवनमा दैनिक १०० देखि १५० युनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङ्घीय राजधानी काठमाडौँ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो । रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित १०५ जनाले रक्तदान गरे ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताए । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसँगै आम रक्तदाताहरूलाई रक्तदान गर्न आव्हान गरिएको थियो ।























