मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो


मुस्ताङ, कात्तिक १२। सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो ।
आज मौसम खुलेसँगै सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।
मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने करिव दुई किलोमिटर पैदलमार्गमा जमेको हिउँ सशस्त्र प्रहरीद्वारा पन्छ्याइएपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई निकै सजिलो भएको वारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँ परेको हिमपातका मुक्तिनाथ जाने दर्शनार्थीलाई आउजाउ गर्नमा निकै गारो थियो, चिप्लिने, लड्ने र दुर्घटना हुने जोखिम थियो, ‘वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘यहाँ हिउँ पन्छ्याइपछि भक्तजनलाई हुने दुर्घटनाको जोखिम हटेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ हेडक्वाटर मुस्ताङले मुक्तिनाथमा दर्शन गर्न जाने दर्शनार्थीलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखेको छ । हिमपातसँगै चिसो ह्वात्तै बढेका कारण मुक्तिनाथ आएका दर्शनार्थीलाई हाइअल्टिच्युडको सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएको शसस्त्र प्रहरीले जनाएको छ । मुक्तिनाथको तल्लो गेडमा सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क राखेको छ ।























