आहा ! फुतफुते झरना


म्याग्दी । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको निलो ताल । झट्ट हेर्दा ढुङ्गेधारा जस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्यमा नरमाउने कमै हुन्छन् ।
कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको काठमाडौका सुझाव आचार्यले बताए । “अलौकिक र प्राकृतिक फुतफुते झरनामा आउँदा यात्राको थकान मेटियो,” उनले भने “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोती खसेझै महसुस भयो ।”
झरना र फेदीमा रहेको पानीको तलाउमा तस्बिर र भिडियो खिचेर पदयात्रीहरु घण्टौ रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर तयार भएको यो पदमार्ग नयाँ गन्तब्यको रुपमा विकास भएको छ । दसै यता दैनिक तीन सय जनाको अनुपातमा आन्तरिक पर्यटक भित्रिएका मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए ।
“सामाजिक सञ्जाल ‘फेसबुक’, ‘टिकटक’को फोटो भिडियो र सञ्चार माध्यमहरु मार्फत फुतफुते झरनाको राम्रो प्रचार भएको छ,” उनले भने “दुई वर्षअघि सम्म सुनसान फुतफुते झरनामा अहिले दिनभर पर्यटकको चहलपहल हुन्छ ।” छन् । फुतफुते झरना मौरिस हर्जोग पदमार्गको एक गन्तब्य बनेको छ ।
नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । धेरै जसो पर्यटकहरु फुतफुते झरना अवलोकन गरेर साँधीखर्क, गुफाफाँट, भुसकेट हुदै अन्नपूर्ण आधार शिविर तर्फ लाग्छन् । हिड्न नसक्नेहरु भने फुतफुते झरना हेरेर फर्कन्छन् ।
अन्नपूर्ण गाउँपालिकाले गत वर्ष झरना नजिकै आश्रय स्थल र शार्वजनिक शौचालय बनाएको अध्यक्ष भारतकुमार पुनले बताए । फुतफुते झरना लगायत मौरिस हर्जोग पदमार्गको गुरुयोजना बनाएर पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेको अध्यक्ष पुनले बताए ।
नारच्याङ्का बासिन्दाले त्यहाँ अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । झरनाको फेदीमा रहेको पोखरी मुनी काठको झोलुङ्गे पुल छ । पुलको पारी अर्को सानो झरना छ । दायाँ र बायाँ झरना हेर्दै पुल तर्न सकिन्छ ।
झरनाको नजिकै पोखरीको छेउमै पुगेर र पुल नजिकको ढुङ्गा माथि बसेर अवलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ । दुर्घटनाको जोखिम भएकाले तलाउको नजिकै नजान र पौडी नखेल्न पर्यटकहरुलाई आग्रह गरिएको छ ।
झरना अवलोकन स्थललाई सुरक्षित र झोलुङ्गे पुलको स्तरोन्नतिको आवश्यकता देखिएको गतहप्ता मौरिस हर्जोग पदमार्गको भ्रमण गरे गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।
“गुराँसे डाडादेखि फुतफुते झरनासम्म पुग्ने पदमार्ग निर्माण, झोलुङ्गे पुल स्तरोन्नति र सुरक्षित दृष्य अवलोकन गर्ने ठाउँको आवश्यकता देखियो,” उनले भने “फुतफुते लगायत मौरिस हर्जोग पदमार्गको समग्र पूर्वाधार निर्माण र प्रर्वद्धनमा सरकारसँग समन्वय गर्नेछु ।”























