Opens in a new tab

बजारको समस्या नहुँदा झिनियाँ व्यापारबाट तिहारमा ६ लाख आम्दानी

रासस

29Shares
dida bag ad

तानसेन (पाल्पा), कात्तिक २। हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ ।

यतिबेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन्। झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् ।
 
जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिला यतिबेला झिनियाँ बनाउन र बिक्री गर्नमै व्यस्त छन् । उनीहरूले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घरखर्च चलाउने गर्दै आएका छन् । तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा यतिबेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली, पसलपसलमा रङ्गीविरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलमा झिनियाँ रोटीको व्यापार सुरु भएको छ ।

तानसेन टक्सार टोलकी झिनियाँ व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उहाँले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आउनुभएको छ । उहाँले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउनुहुन्छ । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख रुपैयाँ आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दैै आउनुभएको छ । दसैँतिहारमा मात्र साढे तीनदेखि ६ लाख रुपैयाँको झिनियाँ बिक्री हुने उहाँको भनाइ छ । ब्रजाचार्यले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्नसके राम्रो नै आम्दानी हुने बताउनुभयो ।

बज्राचार्यले जस्तै टक्सार टोलका अन्य महिलाले पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योग नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाँको व्यापार फस्टाउँदो छ ।

दसैँअघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले रोटी माग अत्यधिक रहेकाले बजारको कुनै समस्या नरहेको बताउनुभयो । “रोटीको माग पुर्याउनै नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “धेरै स्थानबाट माग आउने गर्छ । तर सबैलाई पठाउन सक्दैनौँ ।” आफैँले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेरसमेत पठाउने गरेको उहाँले सुनाउनुभयो । पाल्पाबाट उत्पादित झिनियाँ गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायत जिल्लामा ठूलो मात्रामा खपत हुँदै आएको झिनियाँ व्यवसायी बताउँछन् । 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे