समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली


काठमाडौँ । आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ । उनी भन्छिन्, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरीदिन्थे ।”
‘सम्बन्ध जति टाढा उति गाढा’, भनेजस्तै बेल्वासेले दाजु विदेशिएपछि तिहारको महत्त्व झनै मनन गरेकी छिन् । कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन् । आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उनी सधैँ हार्दिक भाव राख्छिन् । यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको उनले सुनाइन् । विगतमा देउसी र भैलो खेलेर रमाइलो गरे क्षण सँगालेकी बेल्वासेले भनिन्, “दाइ अर्को वर्ष त आउँछ रे ।”
कोटेश्वर बस्ने गङ्गा कोइरालाले भने दुई वर्षअघि विदेशिएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको बताउछिन् । रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन् । उनीहरूले हरेक तिहारमा बिहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन् । कोइरालाले खाडीमुलुक पुगेका दुई दाजुप्रति माया भाव दर्शाउँदै भनिन्, “उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ ।”
वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ । जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ । विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ ।
उनी भन्छिन्, “वैदेशिक रोजगारले सामाजिक मूल्यमान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ ।” यसलाई उनले सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने बताउछिन् । आर्थिक रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उनको बुझाइ छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या आठ लाख ३३ हजार पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाखले बढेको छ । आव २०८०र८१ को तथ्याङ्क हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क छ ।






















