फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी


वालिङ (स्याङ्जा), असोज ३०। स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । पूर्वशिक्षकसमेत रहनुभएका उहाँले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो ।
बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताउनुभयो । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका उहाँले मागअनुसार फूल पु¥याउन नसेकेको उल्लेख गर्नुभयो । “सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ”, उहाँले भन्नुभयो, “मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।” यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।
उहाँले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको छ । उहाँललाई श्रीमती र छोरद्वयले सहयोग गरिरहनुभएको छ । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उहाँले बताउनुभयो ।
भण्डारीले फूलका थुङ्गा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिनुभयो । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उहाँले बताउनुभयो । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”
गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उहाँले यस वर्ष रु १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो ।






















