विपिन जोशी जीवित नरहेको पुष्टि


काठमाडौं । दुई वर्षअघि इजरायलबाट विद्रोही हमासको कब्जामा पुगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि भएको छ ।इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसको पुष्टि गरेका हुन् । इजरायलका अधिकारीहरूले विपिन जीवित नरहेको जानकारी आफूलाई दिएको पण्डितले बताए ।
राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ राजदूत पण्डितका अनुसार अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी उनीहरूले दिएका थिए ।
यो खबरसँगै दुई वर्षदेखि विपिनको पर्खाइमा बसेको उनको परिवार र सिंगो नेपाली समुदाय स्तब्ध भएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो । विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरू अमेरिकामा छन् ।
अमेरिकाको मध्यस्थतामा इजिप्टमा भएको वार्तामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार हमासले आफ्नो नियन्त्रणमा रहेका २० जना बन्धक रिहा गर्दैछ ।






















