चितवनमा व्यावसायिक सयपत्री फूल उत्पादन


चितवन, असोज २७। तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि व्क सयपत्री फूलखेती गर्दै आउनुभएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट हुनुहुन्छ ।
जिल्लामा अहिले एक सय भन्दाबढी किसानले व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । उनीहरुले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूलखेती गरेको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार विगत तीन वर्षमा सयपत्रीखेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २२ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।
उहाँले भन्नुभयो “गतवर्ष फूलखेती गर्ने किसानले लगाएको बिरुवामा कुकुर फूल भएका कारण उत्पादन भएन र किसानको सङ्ख्या घटेको हो ।” फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यसवर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूलखेती गरिएकोमा पानीका कारण समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उहाँले भन्नुभयो “क्षेत्रफल बढाएका थियाँै तर पानीले सोचे जस्तो भएन ।” जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उहाँले बताउनुभयो । जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उहाँले बताउनुभयो । तिहारका लागि आवश्यक माला बाहिरबबाट खरिद गर्नुनपर्ने उहाँको भनाइ छ ।























