समाज

तमोर कोरिडोरका पुल निर्माण नहुँदा यात्रुलाई सास्ती

रासस
२०८२ अशोज ११ | बिहान ११:०६ बजे

तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेपिरहेका छन्। खोलामा अचानक बाढी आउँदा सवारी साधन बिच बाटोमै अलपत्र पर्ने गरेका छन्।पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मुलघाट गणेशचोक खण्डमा सवारी साधन सञ्चालन भएको लामो समय भइसकेको छ। ११० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र भइसकेको छ। तर साँवा खोलाबाहेक अन्यत्र कुनै खोलामा पुल बनेको छैन। पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारी साधन गन्तव्यमा पुग्न नपाई बीचमै रोकिन्छन्।

तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेंवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्र बनेको छ। हेंवा खोलामा पुल र डाइभर्सन नहुँदा फिदिमबाट छोटो दूरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा ताप्लेजुङ जाने यात्रु मर्कामा छन्। यहाँ ४० मिटर लामो पुल बनाउन डिजाइन भएको छ।

बाढीले हेंवा खोलामा कोरिडोरको करिब १ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ। यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सिडिई दीपक झाले जानकारी दिए।तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायण आशीर्वाद जेभीले लिएको छ। जसको अवधि आगामी वैशाख २९ मा सकिन्छ, तर काम सुरु भएको छैन। यो पुलको लम्बाइ ४० मिटर छ।

स्वामीनारायण आशीर्वाद जेभीले ठेक्का लिएको खम्बुवा खोला पुलमा ४० प्रतिशत भौतिक प्रगति भएको छ। यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ। यस पुलको लम्बाइ ४० मिटर छ।सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिए। उनका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि आगामी वैशाख २९ सम्म छ। यस पुलको लम्बाइ १५० मिटर छ। बघुवा, खम्बुवा र रघुवा खोला पुलको कुल लागत २२ करोड ५२ लाख ७५ हजार ७९० छ।

यही असोज २७ मा म्याद समाप्त हुने छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ। यसको ठेक्का लुम्बिनी–रौताहा–खानी जेभीले लिएको छ। छरुवा खोला धेरै भङ्गालो फाटिएको खोला हो। यहाँ निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर छ। यो कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल हो, झाको भनाइ छ। यसको कुल लागत १७ करोड २३ लाख ७९ हजार ५४० छ।

पानीको मात्रा ठूलो भएकाले यात्रुलाई सधैं दुख दिइरहेको नावा खोलामा पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशत मात्र छ। शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुलको सम्झौता म्याद ०८३ फागुन १२ सम्म छ। नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर छ। यहाँ पिल्लर निर्माणको काम अन्तिम चरणमा छ।

तर सोही कम्पनीले सोही समयभित्र बनाउने ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा निर्माण सुरु भएको छैन। लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर छ। लखुवा, लोरिपा र हेंवा खोला पुलको कुल लागत ३७ करोड २१ लाख ५३ हजार ६४० छ, कार्यालय प्रमुख झाले जानकारी दिए।

बजेट अभावले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ। उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा निर्माण व्यवसायीले पाउनुपर्ने करिब ४ करोड रकम निकासा भएको छैन। ‘गत वर्षको केही रकम हामीले निकासा दिन सकेका छैनौं’, कार्यालय प्रमुख झाले भने, ‘रकमान्तर भएर बजेट थप हुने कुरा थियो। तर भनेअनुसार भएन।’

बजेट कम भएकाले कार्यालयले ठेक्का परिचालनका लागि बजेट दिन नसक्दा निर्माण व्यवसायीले ढिलासुस्ती गरेका छन्। तर यसको मार यात्रुले खेपिरहेका छन्। विशेष गरी पाँचथर–धनकुटा सीमावर्ती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुन्छ। जसले सवारी साधनको नियमित आवागमन प्रभावित हुन्छ।

तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुले समस्या भोग्नुपरेको बताउँछन्। ‘सडक त बाह्रै महिना सञ्चालनयोग्य छ। अब पुल निर्माणमा ढिलाइ हुनुहुँदैन’, अधिकारीले भने।

कमेन्टहरु