सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ :सञ्चारमन्त्री खरेल

रासस
२०८२ अशोज १० | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ, असोज १०। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई)महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि छलफल गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो । महासङ्घले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीको पुनरावलोकन र आवश्यक पुनःगठन गरी सूचनाको हक प्रवर्द्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गतिविधिले जनमानसमा भ्रष्टाचार विरुद्धको लडाइँमा ठोस् परिणाम ल्याउन नसकेकाले सूचनाको हकलाई प्रवर्द्धन गरी सचेत नागरिकले सहज रुपमा सूचना माग्ने र पाउने नीतिगत एवं कानुनी व्यवस्था गरिनुपर्नेमा महासङ्घको जोड रहेको छ ।


















