दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल बाक्लियो


सिमकोट । रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ । दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यती बेला भने भरिन थालेका छन् ।
यस वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए । कुबाडी प्रहरी चौकीलाई उदृत गर्दै यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारी साधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए । गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भएपनि अहिले सडक आएपछि दसैँको फूलपातिअगाडि नै गाउँभरिभराउ हुन थालेका छन् ।
गाउँमा रहेको व्यरोजगारीले प्रदेसिन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका चाँडपर्वमा आफू सधैँ घर फर्किने गरेको अदानचुली गाउँपालिकाका स्थानीय चामुण्डा रोकायाले सुनाए । गाउँमा रोजगारीको अवसर नमिल्दा हुम्लाका अधिकांश बेरोजगार युवा बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न माथिल्लो हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका युवा चीनको ताक्लाकोटमा जाने गर्दछन् भने तल्लो हुम्लाको सर्केगाड, ताँजकोट, अदानचुली, चङ्खेली गाउँपालिकाका प्रायःजसो युवा भारतमा जाने गर्छन् । कात्तिक–मङ्सिरमा उवा, गहुँ, जौँ र असारमा कोदो, चिनो, आलु, मकै, धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा छिमेकी देशमा कामको खोजीमा जाने गर्छन् ।
जिल्लाका नागरीक कामको खोजीमा अन्यत्र जानु पर्ने बाध्यता जस्तै बनेको छ । यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको सिमकोट गाउँपालिका–१ का प्रेम भण्डारीले बताए । गाउँमै रोजगारी नहुँनुका साथै कृषिप्रति युवाको आकर्षण घटेका कारण बढी जसो युवा ताक्लाकोट पुग्ने गर्दछन् ।























