‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल यात्रा


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती महिलाहरू नजिकै प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य छन्।बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ भए पनि जोखिमपूर्ण कच्ची बाटोका कारण त्यहाँ पुग्न मुस्किल पर्छ। सेन्टर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प छैन। सरकारले गर्भवतीको नियमित जाँच र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने नीति लिए पनि यहाँ यो लागू हुन सकेको छैन। यातायातको सुविधा नभएकाले गर्भवतीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था पुर्याउनुपर्ने बाध्यता छ।
यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार, कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्कन बाध्य भएका छन्। “बाटोमा नै शिशु जन्मिएका घटना पनि छन्, बाध्यता छ, के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,” उनले भनिन्।
“यहाँ बाटोको समस्या छ, सुत्केरीलाई स्ट्रेचरमा बोकेर पाँच किलोमिटर टाढा पुर्याउनुपर्ने बाध्यता छ,” बोहराले भने, “यहाँ खानेपानीसमेत छैन, म घरबाट पानी बोकेर आउँछु।” उनका अनुसार, दैनिक २५ देखि ३० जना सेवाग्राही आउँछन्। स्थानीयहरूले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरी सुरक्षित सुत्केरीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
सुगम जिल्ला भनेर चिनिने कञ्चनपुरभित्रै रहेको यो बस्ती विकासका आधारभूत सुविधाबाट वञ्चित छ। पक्की बाटो, स्वास्थ्य, शिक्षा, बिजुली र खानेपानीजस्ता आधारभूत सेवा पाउन पनि यहाँका बासिन्दाले ठुलो कष्ट भोगिरहेका छन्। सदरमुकामदेखि २० किलोमिटर उत्तरमा रहेको यो बस्तीमा जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ।























