समाज

स्व. हेम बहादुर पुनको ईतिहास अबको जिनजी पुस्ताले पढ्नु पर्छ : महासचिव अस्लामी

पार्बती थारु
२०८२ अशोज २ | मध्यान्ह ०६:०६ बजे

बुटवल । नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेम बहादुर पुन मगरको २१ औं स्मृति दिवस बुटवलमा सम्पन्न भएको छ । नेपाल मगर बिद्यार्थी संघ, लुम्बिनी प्रदेश समितिको आयोजना तथा नेपाल मगर युवा संघ, रुपन्देही जिल्लाको व्यवस्थापनमा रुपन्देही जिल्लाको आफ्नै भवन मनविर सभाहलमा प्रमुख अतिथि नेपाल मगर युवा संघ केन्द्रीय महासचिव राम अस्लामी मगर (रोशन)ले हेम बहादुर पुन मगरको तस्वीरमा दीप प्रज्वलन गरी श्रद्धा सुमन व्यक्त गरेका छन।

महासचिव अस्लामीले संस्थापक अध्यक्षलाई स्मरण गर्दै उनी आदिवासी लगायत उत्पीडन समुदायको मात्र नभई राष्ट्रले नै सम्झिनु पर्ने कुशल नेतृत्वदायी ब्यक्ति रहेको बताउनु भयो । उहाँ एक सच्चा राष्ट्रसेवक भएर देशकै गरिमालाई उचाइमा पुर्‍याउने ऐतिहासिक व्यक्ति पनि हुनुहुन्थ्यो । वास्तवमा अहिले भएको जिनजी पुस्ताको आन्दोलनको स्रोत उनै हेम बहादुर पुन हुन। आज भन्दा चार दशक अगाडि नै मुलुकमा ब्याप्त बेथिती असमानता भ्रष्टाचार शोषण दमन बिरुद्ध उहाँले आन्दोलन थालनी गरी सक्नु भएको थियो। तसर्थ अबको जेनजी पुस्ताले स्वर्गीय पुनको इतिहास खोजेर पढ्न आग्रह पनि गर्नु भयो। उनी बेलायत आर्मीबाट अवकाश लिएर नेपाल प्रहरीको निरीक्षकसम्म हुनुभएका स्व. हेमबहादुर पुन मगरले सम्पूर्ण मगरहरुलाई एकताबद्ध बनाउन २०३८ सालमा लाङ्घाली परिवार संघ स्थापना गरेको महासचिव अस्लामीले बताए।

कार्यक्रममा आदिवासी जनजाति महासंघ, रुपन्देहीका सल्लाहकार शंकर गाहा मगर, रुपन्देही जिल्ला अध्यक्ष थर्क बाह्रघरे, फोनिज रुपन्देही सचिव आकृती थापा, मगर संघ जिल्ला सद्स्य बिनिता थापा मगर, नेपाल मगर युवा संघ तिलोत्तमा नगर अध्यक्ष प्रेम घर्ती मगर लगायतले स्व. हेम बहादर पुन मगरको योगदानको उच्च प्रसंशा गरेका थिए ।

महिला नेतृ तथा मगर संघ रुपन्देहीका सचिव राधिका श्रीस, नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष निर्माला थापा, महिला नेतृ क्षितिजा राहादी मगर, समाजसेवी दल बहादुर दर्लामी लगायत बिद्यार्थीहरुलाई नेपाल मगर युवा संघ, रुपन्देहीका उपाध्यक्ष पहल सिंह राना मगरले स्वागत गर्दै मन्तव्य राख्नु भएको थियो भने सभाध्यक्ष मगर बिद्यार्थी संघ, लुम्बिनी प्रदेश का अध्यक्ष रमेश सारु मगरले “हेम बहादुर पुन मगरले गरेको योगदान बारे नयाँ पुस्ताले बुझ्न जरुरी रहेको बताउदै हामी यो जिनजी पुस्तासम्मको आन्दोलनसम्म आइपुग्दा हेम बहादुर पुन प्रति श्रद्धाले शिर निहुरिनु पाउँदा गर्वले छाती फुलेको बताउनु भयो ।”

छोटो समयमा आयोजना गरिएको उक्त स्मृति दिवस कार्यक्रम आगामी दिनमा बृहत रुपमा गर्ने सुझाव राख्दै कार्यक्रम सञ्चालन नेपाल मगर बिद्यार्थी संघका सदस्य लाल सिंह घर्ति मगरले गरेका थिए ।

कमेन्टहरु