बारामा बाघको आक्रमण : एक महिनामा ४ जनाको मृत्यु

रासस
२०८२ भदौ २३ | मध्यान्ह ०२:०५ बजे

बारा । बाघको आक्रमणबाट बारामा गत एक महिनामा चार जनाको मृत्यु भएको छ। बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तमाङले जानकारी दिए ।
लामालाई आइतबार च्याउ टिप्न जङ्गल जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको हो । घाँस काट्न गएका स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । दुई वटा हात्ती सौराहाबाट बाघको खोजीका लागि आएको उनले बताए । बाघलाई डार्ट गर्न पशु चिकित्सकसहितको टोली जङ्गल क्षेत्रमा परिचालन गरिएको छ ।


















