तरकारीखेतीबाट वार्षिक तीन लाख बचत


कञ्चनपुर, भदौ १९ । शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्ज गर्दै आउनुभएको छ । सामान्य लेखपढ गर्न पनि नगर्नुभएका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उहाँले तरकारीखेती सुरु गर्नुभएको हो ।
तरकारीखेतीबाट जीविकोपार्जन भइरहेको भन्दै उहाँले वार्षिक रु तीन लाख बचत हुने जनाउनुभयो । चौधरीले यहीँ आम्दानीले परिवारको सम्पूर्ण खर्च सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जीविकोपार्जनका लागि अरुको मुख ताक्नुपरेको छैन, खेतीकै आम्दानीबाट सहज रूपमा परिवार पाल्न सकिएको छ ।”
कमैया बस्दा विवाह गरेका चौधरीलाई परिवार पाल्ने ठूलो चुनौती थियो । तरकारीखेतीलाई आधार बनाएर उहाँले जीवनलाई नयाँ मार्ग दिनुभयो । “यसकै आम्दानीबाट पक्की घर निर्माण गरेका छौँ । छोराका लागि अटो खरिद गरेर दिएको छु । सोही अटोमार्फत बजारसम्म तरकारी ढुवानी गर्ने र भाडामा काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
खेतीका लागि चौधरीले सरकारबाट अनुदानमा पावरटिलर प्राप्त गर्नुभयो । सिँचाइ सुविधा बढाउन बोरिङ राखेको बताउँदै उहाँले यसले खेती उत्पादनमा सहयोग पुगेको धारणा राख्नुभयो । “तरकारीखेतीमा मेहनत गरे पनि कहिलेकाहीँ भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भारतबाट सस्तो तरकारी आउँदा लागत पनि नउठ्ने गरी बेच्नुपर्ने अवस्था आउँछ ।” यसले किसानलाई निरुत्साहित बनाउने गरेको उहाँको दुखेसो छ ।
अग्र्यानिक उत्पादनमा जोड दिएर बजारमा छुट्टै पहिचान कायम गर्ने लक्ष्य बनाएको चौधरीको भनाइ छ । उहाँलाई अहिले गाउँमा ‘मिहिनेती किसान’ भनेर चिन्छन् । उहाँ खेतीमा मात्रै सीमित नभई गाउँलेलाई आधुनिक कृषि पद्दति अपनाउन प्रेरित पनि गर्दै आउनुभएको छ ।
स्थानीय किसान विपदराम चौधरीले भन्नुभयो, “महादेवले गरेको मेहनत हामी सबैका लागि प्रेरणा हो । खेतीबाटै जीवन धान्न सकिन्छ भन्ने प्रेरणा उहाँबाटै लिएर हामी पनि तरकारीखेतीमा आबद्ध भएका छौँ ।” दुई दशकअघि जमिन्दारको गोरु चराउने काममा सीमित रहेका चौधरी आज आफ्नो मेहनत, लगनशीलता र निरन्तरताले सफल व्यवसायिक किसान बनेका स्थानीय जगरनाथ चौधरीले बताउनुभयो ।























