मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर


मन्थली । रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । यहाँ आयोजित एक समारोहकाबिच बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।
कार्यक्रममा मन्त्री बादेले सभ्य समाज निर्माणका लागि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न आवश्यक रहेको बताए । अब प्रदेशका सबै पालिकाले छिटो भन्दा छिटो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुपर्नेमा उनले जोड दिए । उनले मन्थली नगर जिल्लाको पहिलो, प्रदेशको एघारौँ र देशभर सत्ताइसौँ स्थानमा परेको जानकारी दिए ।
मन्त्री बादेले प्रदेश सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनुपर्ने नीति ल्याएकामा मन्थली नगर ११औँ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको धारणा राखे ।
मन्थली नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहअघि वडा नं १, २ र ३ को मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट, वडा नं ४, ५ र ६ को मन्थलीस्थित भैँसेश्वर चोकबाट र वडा नं ७ बाट १४ सम्म गाईखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बाजागाजासहित र्याली निकालेर मन्थलीस्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेपछि आफू जस्ता बालबालिकाको हक अधिकार सुनिश्चित हुने बाल क्लब सञ्जालकी श्रेया कार्कीले बताइन् । दुई वटा नगरपालिका रहेको यस जिल्लाको रामेछाप नगरले पनि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम तयारी पूरा गरेको रामेछाप नगरप्रमुख लवश्री न्यौपानेले बताए ।























