लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

रासस
२०८२ भदौ ११ | बिहान ११:०५ बजे

चितवन, भदौ ११ । जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।
यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताउनुभयो ।
सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् ।


















