लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’


मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले घेरिएको माटोको सहरका रुपमा परिचित लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत रुपमा त्यहाँ सङ्ग्रहालय स्थापना गरेका हुन् ।
पर्खालले घेरिएको लोमान्थाङभित्र दर्जनौँ पुराना ढुङ्गा र माटोले बनेका ऐतिहासिक गुजमुच्च एकआपसमा जोडिएका परम्परागत घर अवस्थित छन् । त्यही पुराना घरहरुमा त्यहाँ जाने पर्यटकले रात कटाउँथे । अहिले त्यस्तो अवस्था नरहेको वडा सदस्य छेवाङको भनाइ छ । लोमान्थाङमा आधुनिक घरहरु निर्माण हुँदै गरेको र पर्यटकका लागि भीआइपी होटलहरु सञ्चालनमा रहेको उनले बताए । यहाँ सङ्ग्रहालयमा पर्यटकलाई विगत र वर्तमान लोमान्थाङको परिवर्तित अवस्थालाई म्यूजिक अवलोकनबाट सबै कुरा जानकारी प्राप्त हुने बताए ।
सङ्ग्रहालयमा यहाँको हिउँदयाम र वर्खायाममा हुने मौसम परिवर्तन र जीवनशैलीको थुप्रै तस्बिरहरु सङ्ग्रहालयमा व्यवस्थापन गरेका छन् । यहाँका कृषि, पशुपालक, चाडपर्व, ऐतिहासिक तथा धार्मिक सम्पदाको तस्बिर ग्यालरी सङ्ग्रहालयमा पुगेर अवलोकन गर्न पाइने वडा सदस्य छेवाङले बताए ।
लोमान्थाङको ऐतिहासिक तिजी र यार्तुङ लगायतका विभिन्न चाडपर्व मनाउने प्रचलन र तरिकालाई सङ्ग्रहालयमा समेटिएको उनले बताए । ‘यहाँको महत्वपूर्ण चाडपर्व अवलोकन गर्न नसकेका पर्यटकले सङ्ग्रहालयबाट धेरै कुरा जानकारी प्राप्त हुन्छ’, यसले यहाँ आइपुग्ने पर्यटक तथा विभिन्न खोज अनुसन्धान गर्नेका लागि सङ्ग्रहालय उपयोगी बन्न सक्नेछ’, उनले भने ।
छेवाङले सङ्ग्रहालयभित्र सदियौँ वर्ष पहिले प्रयोग हुने भाडावर्तन, खेतीपातीमा प्रयोग हुने घरेलु औजार, पूजाका सामग्रीलगायत समान सजाइएका छन् । निकै लामो समय युरोप बसेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने हेतुले पुख्र्यौली थलो लोमान्थाङ फर्किएका छेवाङ सामाजिक अभियान्ताका साथै पर्यटन पथप्रर्दशक हुन् । उनी लोमान्थाङ–५ को वडा सदस्यमा निर्वाचित भएपछि त्यहाँका विकास र समृद्धिका लागि लागि परेका छन् ।
गाउँ ठाउँमै बसेर केही आयआर्जन गर्न सकिन्छ भनेर अरुले गर्न नसकेको फरक खालको व्यवसाय सुरु गरेको वडा सदस्य छेवाङ बताउँछन् । उनले सङ्ग्रहालयमा उपल्लो मुस्ताङ लेण्ड स्कीप तस्बिर र जैविक विविधतालगायत तस्बिर ग्यालरी राखेको बताउँछन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ आउने पर्यटकले लोमान्थाङको विगत र वर्तमान अवस्था, मुस्ताङी राजाको दरबार, साँघुरो गल्ली, पर्खालले घरिएको माटोको सहर लोमान्थाङ, यहाँका गुम्बा, मार्ने, छोर्तेनलगायत तस्बिर सङ्ग्रहालयभित्र राखिएको छेवाङले बताए ।
छेवाङले भदौ १ गतेदेखि लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरेका हुन् । त्यसो त लोमान्थाङमा आमची घ्याचो बिष्टको आयुर्वेद संग्रालय पनि छ । छेवाङले स्थापना गरेको संग्रालय परिवारका सदस्यहरुले आलापालो गरी चलाउने गरेको जानकारी दिए । यहाँ संग्रालय
अवलोकन गर्ने स्वदशी तथा विदेशी पर्यटकलाई अवलोकन शुल्क वापत दुई सय रुप शुल्क उठाउन गरेको वडासदस्य छेवाङले बताए । तर, स्कुल र क्याम्पसमा पढ्ने विद्यार्थीहरुका लागि परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको वडा सदस्य छेवाङको भनाइ छ । सङ्ग्रहालयका लागि स्थानीय पालिकामा संस्था दर्ता भइसकेको उनले जानकारी दिए ।






















