पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै


कञ्चनपुर, साउन २८ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो ।
“पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ” अध्यक्ष चौधरीले भन्नुभयो, “अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिने छौँ ।” उहाँका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ ।
पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनःउत्पादन प्लट, १६ कट्टाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे ९घरबास० सञ्चालन गर्ने योजना बनाइएको बताउँदै चौधरीले चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
सामुदायिक वनलाई पर्या–पर्यटनसँग जोडेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले थालिएको पाहुना घर निर्माण शीघ्र सम्पन्न भई सञ्चालनमा आउने कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो । पाहुना घर निर्माणका लागि वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।






















