अर्थ

नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

नवलपुर टुडे
२०८२ असार २८ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । पर्वतीय पर्यटक व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले विज्ञप्ति जारी गरी गत मंगलबार बिहान लेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रीहरु समस्यामा परेको बताएका हुन् । 

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कुटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजन सुरु हुनै लाग्दा चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रुपमा भिसा उपलब्ध गराउन समेत सरकासँग माग गरे । 

उनले नेपालस्थित चिनियाँ राजदूतावासँग कुटनीतिक पहल गरी भिसा प्रक्रियालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौंमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउन पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे । 

कमेन्टहरु