रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ९२ करोड बढीकाे बजेट


बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
सोमबार दोस्रो नगरसभाको सातौँ अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वर देवी चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने अनुमान गरिएको बताइन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि तिलोत्तमामा २ अर्ब ७६ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । उपप्रमुख चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य लिएको बताइन् ।
शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वांगिण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रवर्तनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने गरिने उपप्रमुख चौधरीले बताइन् ।























