उत्खननको पर्खाइमा तामाखानी

नवलपुर टुडे


बागलुङ । नेपालका २२ ठूला परम्परागत खानीमध्ये एक हो, जैमिनी नगरपालिका–१० राङ्खानी। यहाँ तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ छन्। तर, उत्खनन नहुँदा र संरक्षणको अभावमा केही सुरुङ पुरिएका छन् भने पहिरोले क्षति पुर्याएको छ।
तामा निकाल्ने क्रममा धेरैले ज्यान गुमाएका थिए। तर, पछिल्लो समय यस्तो देखिएको छैन। जैमिनी–१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको बताए। ‘बाजेले तामाको धाउ बेचेर जीविका चलाउनुहुन्थ्यो, पछि कर बढी भएपछि खानी बन्द भयो,’ उनले भने, ‘पाखैभरि तामा खनेका डोब छन्। चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्। हामीले सुरुङमा हिँडेका छौँ। तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिरोले पुरिएका छन्। सरकारले उत्खननमा ध्यान दिनुपर्छ।’
राङ्खानी क्षेत्रमा तामाखानीका धेरै सुरुङका प्वाल छन्। तीमध्ये केही मेटिन थालेका छन्। डाँडाखानीलगायत क्षेत्रमा १२० वर्षअघिसम्म उत्खनन भएका तामाखानी अहिले पुरिने अवस्थामा छन्। कर तिर्न नसकेर उत्खनन बन्द भएको श्रीसले बताए। ‘१४ धार्नी कर तिर्न नसक्दा खानी बन्द भएको हो। स्रोतको अभावले कर बुझाउन नसकिएको मैले सुनेँ,’ उनले भने। अहिले पनि तामाका अवशेष रहेकाले सम्भाव्यता अध्ययन गरी खानी सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ। खानी सञ्चालित भए स्थानीय सरकार र बासिन्दाको आयआर्जन बढ्ने उनीहरूको भनाइ छ।
स्थानीयले आफ्नै सीप र प्रविधिबाट सानो मात्रामा तामा निकाल्थे। आधुनिक प्रविधिले ठूलो मात्रामा तामा निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए। अन्य जिल्लाका मजदुरसमेत यहाँ काम गर्न आउने भएकाले ठूलो मात्रामा तामा रहेको अनुमान छ।
खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारसँग नभएकाले सङ्घीय सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए। जैमिनी नगरपालिकाले दमेक र राङ्खानी क्षेत्रमा खानीको सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी दिए। तामाको धाउलाई स्थानीय भाषामा राङ भनिन्छ। त्यसैले तत्कालीन राजा रजौटाले यो ठाउँको नाम राङ्खानी राखेको भनाइ छ। तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रका खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त भए पनि ठोस तथ्याङ्क आएको छैन।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन्। धातुजन्य खानीसँगै जिल्लामा ढुङ्गाखानी पनि प्रशस्त छन्। ढुङ्गाखानी केही ठाउँमा उत्खनन भए पनि फलाम र तामाखानी अझै उत्खनन हुन सकेका छैनन्।

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर

बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
अरुपनि पढ्नुहोस
सबै
हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा
















