Opens in a new tab

‘नायिका स्वेता खड्काका कारण माझी बस्ती नै लिलाम’

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काका कारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माझी परिवार विस्थापित हुनपर्ने अवस्थामा पुग्न लागेको भनेर ध्यानाकर्षण गरेकी हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन् ।

सांसद माझीले भनिन्, ‘स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो,हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ । उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो,जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।’

नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेसनमार्फत अभियान चलाएकी थिइन् । चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन स्वेता खड्का फाउन्डेसनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको उनले बताइन् ।