रुपन्देहीमा हजारौँ श्रोतामाझ प्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले गरे सम्बोधन


रुपन्देही । अन्तर्राष्ट्रिय शान्तिवक्ता, प्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले रुपन्देहीमा हजारौँ श्रोताहरूलाई सम्बोधन गरेका छन्। रूपन्देहीको सैनामैना-७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आत्मज्ञान प्रचार संघले कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘म आज यहाँ तपाईँहरूलाई मानिसको जीवन अनमोल छ र यो फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको हुँ । तपाईँभित्र धेरै राम्रा कुराहरू छन् । तपाईँभित्र दया छ, करुणा छ । तपाईँभित्र मानिसको कल्याण हुने सबै कुराहरू छन् ।’
प्रेम रावतले थपे, ‘जीवनमा खुसी हुनका लागि नै हामी यी सबै कुरा गरिरहन्छौँ तर वास्तविक खुसी हाम्रो हृदयमा छ । खुसी हुनुहोस् किनभने तपाईँभित्र यो श्वास आइरहेको छ । श्वासको आवागमन नै सृष्टिकर्ताको कृपा हो । तपाईँले यो श्वासको मूल्यलाई नबुझेसम्म यो जीवन कति अमूल्य छ भन्ने कुरालाई बुझ्न सक्नुहुन्न । यस श्वासलाई पहिचान गर्नुहोस्, श्वासलाई चिन्नुहोस् । यसमा तपाईँलाई खुसी दिन सक्ने चिज समाहित छ ।’
उनले विनाप्रेम कुनै सम्बन्ध नहुने पनि बताए। ‘सबै नातासम्बन्ध प्रेमसँग गाँसिएको हुन्छ । तपाईँसँग तपाईँको सम्बन्ध कस्तो छ ? प्रेमको, आभारसहितको या कुनै अर्कै खालको छ ? प्रेममा जस्तो छ त्यही रूपमा स्वीकार गर्ने खालको गहन सम्बन्ध हुन्छ । साँचो प्रेम भएकै कारणले तपाईँ अरूको खराबीलाई हेर्नुहुन्न, राम्रोपनलाई मात्रै हेर्नुहुन्छ.’ उनले भने।
उहाँले अगाडि थपे, ‘ज्ञान दुई प्रकारका हुन्छन् । एउटा स्वयम्को ज्ञान अनि अर्को यो संसारको ज्ञान । एउटाले आनन्द प्रदान गर्छ भने अर्कोले चाहे जतिसुकै धेरै ज्ञान भए पनि आनन्द दिन सक्दैन । तपाईँले खोज्नुभएको चिज तपाईँभित्र छ, यसलाई चिन्नुहोस् । तपाईँ त्यस चिजको ध्यान गर्न सक्नुहुन्छ अनि आफ्नो जीवनलाई आनन्दमय बनाउन सक्नुहुन्छ ।’
कार्यक्रममा नेपाल-भारतको सीमावर्तीक्षेत्रबाट उपस्थित हजारौँ मानिसहरूले सहभागिता जनाए। भारी वर्षा भइरहेको समयमा समेत मानिसहरूले कार्यक्रमबाट लाभ लिएका थिए।























