विनोद चौधरीको सम्पत्ति दुई अर्ब डलर, फोर्ब्सको १७६३औँ अर्बपति सूचीमा


काठमाडौं, चैत २० । नेपालका घोषित एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढेर दुई अर्ब डलर पुगेको छ । व्यावसायिक घरना चौधरी ग्रुपका अध्यक्ष रहेका उनको सम्पत्ति गत वर्षको तुलनामा यसवर्ष २० करोड अमेरिकी डलरले बढेको फोर्ब्सले जनाएको छ । गत वर्ष सन् २०२४ मा उनको सम्पत्ति एक अर्ब ८० करोड अमेरिकी डलर थियो । यसवर्ष बढेर दुई अर्ब डलर पुगेको चर्चित म्यागजिन फोर्ब्सले जनाएको छ ।
चौधरी फोर्ब्सको धनीको सूचीमा १७ सय ६३ स्थानमा छन् । चौधरीले सीजी कर्प ग्लोबललाई कन्ट्रोल गर्दै आएका छन् । चौधरीको नेपालमा नबिल बैंक र वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्सका साथै होटेलमा ठूलो लगानी रहेको छ ।
चौधरीको वाइवाइ चाउचाउ भारत, सर्बिया, बंगलादेशमा उत्पादन भइरहेको छ । यसैगरी अफ्रिकी मुलुक इजिप्टमा पनि वाइवाइ चाउचाउ उत्पादन गर्ने कारखाना निर्माणको चरणमा रहेको छ ।
चौधरीको ठूलो आम्दानी चेन होटलबाट आउने गरेको छ । उनले भारतको ताज ग्रुपसँगको साझेदारीमा पाँचतारे लक्जरियस होटेलहरू सञ्चालन गर्दै आएका छन् । यसैगरी उनका छोरा निर्वाण चौधरीले नेपालमा रहेको बिजनेस सम्हाल्दै आएका छन् भने राहुल र वरुण चौधरीले विदेशको व्यवसाय हेर्दे आएका छन् ।
६९ वर्षीय चौधरी सन् २०१६ मा पहिलोपटक फोर्ब्सको डलर अर्बपति सूचीमा प्रवेश गरेका हुन् । त्यसबेला उनको कुल सम्पत्ति एक अर्ब १० करोड डलर थियो । त्यसपछि उनको सम्पत्ति निरन्तर बढेको थियो ।























