भँगेराको सङ्ख्या बर्सेनि घट्दो

रासस


भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके,’ शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन्।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्।
तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनासको कारण मान्छन्। भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उनको भनाइ छ। भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन्।
चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ। प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ। विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ। ‘ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ,’ उनले भने, ‘खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ।’
खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हुँदै गएको उनले बताए। काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उनको भनाइ छ। उनका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ। भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ। गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौँ।
भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उनी सल्लाह दिन्छन्। चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आइ लभ स्प्यारो) रहेको छ।
चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन्। चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन्। कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताए। विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















