काँग्रेस अहिले सरकारमा नरहेको जिकिर : डा. शेखर कोइराला

नवलपुर टुडे


काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरेका हुन् । उनले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताए । बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनको आरोप छ । सांसद कोइरालाले सरकारमा नरहेको बताएपनि अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ ।
संयन्त्रले सरकार चलाउने कुरा कम्युनिस्टहरू र साम्यवादी देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
उनले भने, ‘कता कता मलाई चिन्ता लागेको छ । हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ । हामी प्रतिस्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली काँग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ । संयन्त्रले सरकार चलाउने कम्युनिस्टहरूमा मात्रै हुनसक्छ । साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ । लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ ।’
कोइरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए । सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरेको उनको आरोप थियो । उनले भने, ‘ यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सुशासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठुला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ । राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो । तर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसद्लाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको छ, यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ । अध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्ने कुरा पछिको कुरा हो । संसद् बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्ने कुरामा सरकारले जवाफ दिनुपर्छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर कस्तो सुशासन भने घुस दिनेलाई समात्ने, घुस लिने छोडिदिने रहेछ । महान्यायाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिएको छ राज्यले त्यो अधिकारको दुरुपयोग भइरहेको छ ।’
सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्ने गरी ल्याइएको कोइरालाको भनाई थियो । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनले बताए । उनले कुनै पनि हालतमा सरकारले संसद्मा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरूसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए । सांसद कोइरालाले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ । यो विधेयक भर्खर संसद्मा गएको छ । छलफल हुन त बाँकी नै छ । तर जसरी यो विधेयक आएको छ । र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन । कुनै पनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरूसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ ।’

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















