तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन्। आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए।
मदन र सुमन दुई दाजुभाइ मात्रै हुन्। “आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ। उनका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो। हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो। त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु गर्यौं। त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,” उनले भने।
मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने। दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन। सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो। दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए। तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडे।
दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ। “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ। हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,” उनले भने।

























