रामग्रामबाट लागुऔषधसहित चार जना पक्राउ


रामग्राम, साउन २४ । पश्चिम नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन । उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका- १२ बस्ने वर्ष २४ को संदिप परियार, रूपन्देही देवदह नगरपालिका- ७ बस्ने वर्ष १९ को राजन वि.क., रूपन्देही रोहिणी गाउँपालिका- ६ बस्ने वर्ष ३९ को ईरशाद मिया र रामग्राम नगरपालिका- २ बस्ने वर्ष २६ को मोहम्मद सरिफ कुरेशी रहेका छन ।
उनीहरुलाई रामग्राम नगरपालिका- २ कालिकाटोल स्थित रहेको मोहम्मद सरिफ कुरेशीको घरमा अवैध रूपमा लागुऔषध खरिद तथा विक्री वितरण गरेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले कुरेशीको घर खानतलासी लिने क्रममा लागुऔषध सेवन गरी लठ्ठिएको अवस्थामा रहेको र उनीहरुको साथबाट डाईजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल र प्रयोग भएको सिरिन्ज थान १ बरामद गरिएको कार्यालयका सुचना अधिकारी एवम डीएसपी रेशम बोहराले जानकारी दिए ।
पक्राउ परेका आरोपित चारै जनालाई बिहिवार लागुऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट दिन ५ (पाँच ) म्याद थप लिई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बोहराले बताए ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने ब्यबस्था रहेको छ ।






















