२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ


काठमाडौँ, असार ११ । भक्तपुरको ददिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका छन् ।
ददिकोटका डिल्लीराज राउतको घरभित्र प्रवेश गरी सिबिआईको प्रहरी हुँ भन्दै २ करोड लुटपाट गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा, सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी-२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ र ओखलढुंगा घर भएका मुनाराज राई रहेका छन् ।
उनीहरूले गत असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार उनीहरुले सीआईबीको प्रहरी हुँ भन्दै राउतको घरभित्र प्रवेश गरि घरका सदस्यहरुलाई डरत्रास देखाई दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए ।
लुटपाटमा संलग्न एक जना अझै फरार छन् ।























