अपराध

रौतहटमा बाँसको मुङग्रो प्रहार गरी बहिनीको हत्या, दाजु पक्राउ

नवलपुर टुडे
२०८१ असार ११ | बिहान १०:०३ बजे

रौतहट, असार ११ । रौतहटमा बाँसको मुङग्रोले प्रहार गरी आफ्नै बहिनीको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । परोहा नगरपालिका-८ नरकटिया टोलका २० वर्षीया तेतरीकुमारी रामको हत्या आरोपमा उनकै दाजु २२ वर्षीय दीपेन्द्र कुमार रामलाई प्रहरीले पक्राउ गरेको हो ।

गत आइतबार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको क्रममा दीपेन्द्रले बहिनी तेतरीकुमारीलाई बासको मुङग्रोले टाउकोमा प्रहार गरेका थिए । गम्भीर घाइते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टम कार्य सम्पन्नपछि पीडित परिवारले बुझी लिइसकेको छ । दिपेन्द्रमाथि कर्तव्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु