भारतमा जागिर लगाइदिने भन्दै लगेर ठगी गर्ने समूहका दुई जना पक्राउ


नवलपुर, असार १० । भारतको बनारसमा रहेको मोडल फेसन कम्पनीमा जागिर लगाइदिने भनि झुठो प्रचार गरि सोझा साझा जनतालाई ललाई फकाई भारतमा लगि ठगी गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नवलपुरको बिनयी त्रिवेणी गा.पा. वडा नं. ७ स्थित व्यारेज पुलबाट बाग्लुङको जैमिनी न.पा. वडा नं. १० राङखानी निवासी बर्ष ३२ को नरगङ नेपाली र सोहि ठाउँ बस्ने बर्ष २५ कि मनिका नेपालीलाई रोजगारीका लागि जान लागेका मानिसहरु लिन आउने क्रममा पक्राउ गरिएको हो ।
उनीहरुले नेपालका ग्रामिण इलाकाहरुबाट रोजगारी दिने भन्दै सोझा साझा जनताहरुलाई ठगी गर्दै आएको भन्ने खुलेको छ । सोहि समुहले तनहुँको भिमाद न.पा. वडा नं. १ किहुँ निवासी बर्ष २७ को रन बहादुर वि.कलाई भारतको बनारसमा अवस्थित पुस्कर देव न्यौपाने संचालक रहेको मोडल फेसन कम्पनीमा काम लगाईदिने भनि लगि पटक पटक गरि दुई लाख एघार हजार रकम ठगि गरेको खुलेको छ ।
उनीहरुमाथि ठगि आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धी कसुरमा सम्मानित नवलपुर जिल्ला अदालतबाट दिन ५(पाँच) म्याद थप गरि अनुसन्धान कार्य जारी रहेको नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।
साथै सोही समूहले २०८० साउन १२ गते पनि रोजगारी दिने भन्दै गुल्मीको इस्मा गा.पा वडा नं. २ बस्ने बर्ष २४ को दोर्ण कुमाल, बर्ष २१ को बसन्त कुमाल, बर्ष २८ को किरण नेपाली, वडा नं. ८ बस्ने बर्ष ३५ को लाल बहादुर खत्री, स्याङजाको भिरकोट न.पा. वडा नं. ९ बस्ने बर्ष २१ को सुक्मित गुरुङ, गल्याङ न.पा. वडा नं. ३ बस्ने बर्ष २२ को आकाश थापा, गल्याङकै वडा नं. १० बस्ने बर्ष २३ कि धनिमाया गाहा मगर, बर्ष २२ की रिता पल्ली मगर, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३४ को अर्जुन पौडेल, चितवनको रत्ननगर न.पा. वडा नं. ११ बस्ने बर्ष २७ को प्रकाश विश्वकर्मा, अर्घाखाँचीको सितगंगा न.पा. वडा नं. १४ बस्ने बर्ष २७ रविन पुन मगर, तनहुँको घिरिङ गा.पा. वडा नं. ४ बस्ने बर्ष २३ को जुन माया राना र सोही ठाउँकी बर्ष ३१ को विष्णु रानालाई भारतमा काम लगाईदिने भनि भारत लैजाँदै गरेको अवस्थामा त्रिवेणीस्थित व्यारेज पुलबाट उद्दार गरि उनीहरुलाई आ-आफ्नो घरमा फिर्ता पठाईएको थियो ।























