कपिलवस्तु करागारबाट सुरुङ खनेर भागेका भारतीय १४ वर्षपछि पक्राउ


कपिलवस्तु । कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेको प्रहरीले बताएको छ।
कपिलबस्तु कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए। जिल्लाको शिवराज नगरपालिका– ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।
अदालतले उनलाई ६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुलउपर गर्न आदेश गरेको थियो। २०६६ माघ २ गते उनीसहित ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए। कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुलसहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवणकुमार मुराउ थिए।
त्यस्तै, लागुऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए।
सुरुङ खनेर भागेका सातजनालाई कपिलवस्तु प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। मोहम्मद स्कुल पक्राउ परेसँगै फरार भएका सबैलाई पक्राउ गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।























