पर्साबाट हात्तीको दाह्रासहित तीन जना पक्राउ

नवलपुर टुडे
२०८१ असार ७ | मध्यान्ह ०७:०३ बजे

पर्सा । प्रहरीले हात्तीको दाह्राको अवैध व्यापारमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका– ४ बिजयबस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंङ लामा, वीरगन्ज महानगरपालिका–१४ बस्ने ४० वर्षीय प्रेम शर्मा र वीरगन्ज–३१ का अमिरी साह छन् ।
विगत केही महिना अघिदेखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा केही अपरिचित व्यक्तिहरूले हात्तीको दाह्रा बिक्री गर्नको लागि ग्राहकको खोजी रहेको भन्ने सूचना पाएपछि प्रहरीले छापा मार्दा स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनी करीब २१/२१ किलो तौलको दुई वटा हात्तीको दाह्रा जस्तो देखिने बस्तुहरू फेला परेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिइ जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।























