भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ठगी गर्ने ४ जना पक्राउ


काठमाडौं, असार ४ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै गैर कानुनी रुपमा संस्था खोली ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।
उनीहरुले गोकर्णेश्वर नगरपालिकामा गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली गैर कानुनी रुपमा सूचना माग्ने, धम्की दिने लगायतका अनुचित कार्य गरेको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा सोमबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
उनीहरूले विभिन्न वडाहरूमा त्यसका शाखा समेत खोलेर सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना आदिमा गएर आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै ती कार्यालय, कम्पनीले भ्रष्टाचार, कर छली, आर्थिक अनियमितता गरेको उजुरी आफूहरू कहाँ परेको भनी धम्क्याउने, रकम असुली र चरित्र हत्याजस्ता कार्य गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको थियो ।























