अपराध

झापाको बिर्तामोडमा सुनका गरगहना लुटेर वृद्धाको हत्या, ५ जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ १७ । झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत वैशाख २६ गते बिर्तामोड नगरपालिका-४ शिवनगरमा बिहान साढे ७ बजे आफ्नै घरमा बसिरहेकी ६७ वर्षीय विष्णुमाया विष्टको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा-६ का ४३ वर्षीय धनबहादुर कामी छन् । उनीहरु गंगाको हत्या र चोरीमा संलग्न मुख्य व्यक्ति रहेको सीआईबीको भनाइ छ ।

महेशले चोर्न जान सहयोग गरेको, वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेका थिए ।

आरोपीहरुको साथबाट सुनको हातमा लगाउने बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु