काठमाडौको ठमेलबाट एक किलो भन्दा बढी कोकिनसहित कंगोकी महिला पक्राउ


काठमाडौं, जेठ १३ । काठमाडौको ठमेलबाट एक किलो भन्दा बढी कोकिनसहित एक जना कंगोकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरोको टोलीले गत शुक्रबार १ किलो १०१ ग्राम कोकिनसहित कंगोकी ४९ वर्षीया महिला अपुला एकुत्शु बोंगोलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार उनी गत जेठ ४ गते दुबईबाट काठमाडौं आइपुगेकी थिइन् ।
उनको गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पिछा गरी उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको ह्याण्ड ब्याग भित्र झोलामा लुकाएर राखेको ८५ वटा प्लाष्टिक र्यापिङ गरिएको क्याप्सुल फेला पारेको थियो । उनले उक्त क्याप्सुल निलेर पेटभित्र लुकाएर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीबाट बरामद भएको १ किलो १०१ ग्राम कोकिन अवैध बजारमा अन्दाजी ३ करोड ८५ लाख रुपैयाँ पर्ने ब्युरोले जनाएको छ । उनीमाथि प्रहरीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।























