गृहमन्त्री लामिछानेको सम्पत्ति : ८० तोला सुन, १५ देखि २० केजी चाँदी, खातामा एक लाख १० हजार


काठमाडौं, जेठ ८ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण आज (मंगलबार) सार्वजनिक गरिएको हो ।
जसअनुसार रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नं ८ मा ५ आना जग्गा रहेको उल्लेख छ । ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उक्त जग्गाको मूल्य चुक्ता हुन १ करोड ५० लाख बाँकी उल्लेख छ । यो जग्गा पारिश्रमिकबाट किनेको उल्लेख छ ।
यस्तै, रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ ।
त्यस्तै गृहमन्त्री लामिछानेले आफूसँग करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन् । यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन् । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको सम्पत्ति विवरणमा उल्लेख छ । गृहमन्त्री लामिछानेका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ । श्रीमती निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ ।
त्यसैगरी निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ । चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको उल्लेख छ । निकिताको नाममा २०७९ सालमा ४२ लाख रुपैयाँमा टाटा नेक्सन इभी कार बा-०१-०२८ च०६७४ किनेको उल्लेख छ । निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ ।























