प्रधानमन्त्री प्रचण्डको सम्पत्ति: भरतपुरमा १५ कट्ठाको घर–घडेरी, ५ तोला सुन र २५ लाख मौज्दात


काठमाडौं, जेठ ८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवनको भरतपुर महानगरपालिका वडा नं १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नं १२ मा पत्नी सीता दाहालकै नाममा अंशबाट प्राप्त भएको १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ । उनले यो रूपैयाँ प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन् ।























