अपराध

नवलपुरबाट गैंडाको खागसहित ६ जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ ८ | बिहान ११:०२ बजे

नवलपुर, जेठ ८ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले नवलपुरबाट एक सिंगे गैंडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले संरक्षित वन्यजन्तु एक सिंगे गैंडाको खाग खरिद तथा विक्री भईरहेको विशेष सूचनाको आधारमा खाग सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पक्राउ पर्नेमा नवलपुरको कावासोती नगरपालिका – १५ का ५० बर्षीय छविलाल परियार, सोही ठाउँका ३६ बर्षीय प्रकाश घिमिरे, कावासोती नगरपालिका – १६ का ३८ बर्षीय लेखनाथ सुनार, सोही ठाउँका २९ बर्षीय क्रान्ती खड्का, बुलिङटार गाउँपालिका – ४ का ३५ बर्षीय खिमबहादुर बराल र बझाङको छविस पाथिभरा गाउँपालिका – १ का २७ बर्षीय प्रकाश राज जोशी रहेका छन् ।

संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग खरिद तथा विक्री गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले चितवनको भरतपुर महानगरपालिका–६ को क्षेत्रमा रित पूर्वक सोधपुछ तथा चेकजाँच गर्ने क्रममा कावासोतीका क्रान्ती खड्‌काको साथबाट रातो रङ्गको प्लाष्टिकको झोलामा संरक्षित वन्यजन्तु एक सिंगे गैंडाको खाग (आखेटोपहार) १ थान समेत बरामद गरेको निकुञ्जले जनाएको छ ।

उनका साथबाट ८.५ इन्च उचाई, २.४ इच्च मोटाइ र ६० ग्राम तौल भएको खाग फेला परेको प्रमुख संरक्षक अधिकृत पुनले बताए । क्रान्तिसँगै खाग खरिद विक्रीमा संलग्न रहेको बयानका आधारमा थप ५ जनालाई पनि पक्राउ परेको उनले बताए ।

कमेन्टहरु