क्षतिपूर्ति दिने विषयमा रुस सहमत : परराष्ट्रमन्त्री श्रेष्ठ


काठमाडौं, वैशाख २४ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीको संख्या रुस सरकारसँग माग गरिएको बताए ।
रुसमा मृत्यु भएका नेपालीहरूको शव नेपाली पठाउने र क्षतिपूर्तिसमेत माग गरेको भन्दै उनले क्षतिपूर्तिको विषयमा रुस सरकारले सहमत जनाएको जानकारी दिए । श्रेष्ठले इजरायल-हमास युद्धमा हमासको कब्जामा रहेका भनिएका विपिन जोशी औपचारिक र आधिकारिक अवस्थाका बारेमा जानकारी पाउन नसकिएको जानकारी दिए ।
उनले आर्थिक कूटनीतिलाई मात्रै केन्द्रित गर्नेगरी छुट्टै महाशाख बनाउने तयारी गरेको बताए । यसबाट विकास र समृद्धिको कार्यभार पूरा गर्न सहज हुने उनको धारणा छ । साथै परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गरे ।
अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनले उल्लेख गरे । बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरूको अवस्था सार्वजनिक गर्नुपर्नेलगायतका धारणा राखेका थिए ।























