मुख्य समाचार

रास्वपाका उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन

नवलपुर टुडे
२०८१ बैशाख १५ | मध्यान्ह ०६:०१ बजे

इलाम, वैशाख १५ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि उनले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो । 

रास्वपाका उम्मेदवार लिम्बूले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आचारसंहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्न निर्देशन दिएको जानकारी दिए ।

कमेन्टहरु