नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश


काठमाडौं, वैशाख १३ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेशलाई सदर गर्दै रिहा गर्न अस्वीकार गरेको हो ।
यसअघि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले नेता रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध थुनामा रहेका गृहसचिव पाण्डे, पूर्वमन्त्री रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटाङ शेर्पासमेतले निवेदन दिएका थिए ।
कांग्रेस नेता आङटावा शेर्पा र गोविन्द चौधरीलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । शेर्पालाई ३० लाख र चौधरीसँग १० लाख धरौटी माग गरिएको छ ।























