मुख्य समाचार

वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी

नवलपुर टुडे
२०८१ बैशाख १३ | बिहान ११:०१ बजे

खोटाङ, वैशाख १३ । सामुदायिक वनमा लागेको डढेलो गाउँ फैलिँदा वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा १३ वटा घर खरानी भएका छन् ।

बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

वराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापा मगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ। यस्तै, डढेलोले डान्सिङटारका गंगामाया मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजारलगायत जलेको छ।

यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ। डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ। खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ।

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी(राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताए।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले जानकारी दिए ।

गत साउनदेखि हालसम्म जिल्लामा १०९ वटा आगलागीका घटना हुँदा चार करोड नौ लाख २२ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु