कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने


काठमाडौँ, वैशाख १२ । नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए ।सो भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए ।























